दफा ८६
सञ्चालक समिति र सञ्चालकको सङ्ख्या
: (१) प्राइभेट कम्पनीको सञ्चालकहरुको नियुक्ति र निजहरुको सङ्ख्या नियमावलीमा व्यवस्था गरिए बमोजिम हुनेछ ।
तर सञ्चालकहरुको संख्या एघारजना भन्दा बढी हुने छैन ।
(२) प्रत्येक पब्लिक कम्पनीमा कम्तीमा तीन जना र बढीमा एघार जनासम्म सञ्चालक भएको सञ्चालक समिति रहनेछ । महिला शेयरधनी रहेको पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तीमा एकजना महिला सञ्चालक हुनुपर्नेछ ।
(३) उपदफा (२) बमोजिम सञ्चालक समिति गठन हुँदा कम्पनीको नियमावलीमा तोकिएको योग्यता भएको र सम्बन्धित कम्पनीको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिहरुमध्ये सात जनासम्म सञ्चालक भए कम्तीमा एकजना र सात
जनाभन्दा बढी सञ्चालक भएमा कम्तीमा दुईजना व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गर्नु पर्नेछ ।
(४) सञ्चालकहरुले आफूमध्येबाट छानेको कुनै एक जना सञ्चालक सञ्चालक समितिको अध्यक्ष हुनेछ ।